नेपालमा भूकम्पको इतिहास

नेपालको इतिहासमा अभिलिखित वि.सं. १८९० साल भदौ १२ गते, १९९० साल माघ २ गते २०४५ साल भदौ ५ गते र २०७२ वैशाख १२ गतेको भूकम्पलाई नेपालमा भएका भूकम्पमध्ये ठूलो र विनाशकारी मानिन्छन् । नेपालको भूकम्प इतिहास केलाउँदा वि.सं. १२१८ को रेकर्ड गरिएकामध्ये पहिलो विनाशकारी भूकम्प मानिन्छ ।

१२१८ को भूकम्प

वि.सं. १२१८ असार शुक्ल तृतीया तिथि सोमवारका दिन करीब ७.७ रेक्टर स्केलको भूकम्प गएको विज्ञहरूको भनाइ छ । यही भूकम्पमा परी राजा अभय मल्लको निधन भएको थियो । यो भूकम्पले काठमाडौँ उपत्यकाका एकतिहाई जनसङ्ख्यालाई प्रभाव पारेको थियो । स्थानीय बासिन्दाले १५ दिनदेखि एक महिनासम्म शहर छोड्नुपरेको थियो मल्ल

१३१६ को भूकम्प

यस्तै रेकर्ड गरिएकामध्ये दोस्रो ठूलो भूकम्प वि.सं. १३१६को हो । यो भूकम्पले पनि अत्यासलाग्दो ढङ्गले क्षति पुर्‍याएको अनुमान छ । जसका कारण मुलुकमा महामारीका साथै अनिकाल परेको थियो ।

१४६५ को भूकम्प

करीब १४९ वर्षपछि वि.सं. १४६५मा आएको भूकम्पले रातो मच्छिन्द्रनाथको मन्दिरलगायत अन्य दर्जनौं मन्दिर ढले । जमीनमा ठूलठूला धाँजा फाटे, जसले गर्दा पानीका मुहानसमेत पुराना स्थानमा सुक्ने र नयाँ स्थानमा पलाए । यस भूकम्पले सयौं मानिस तथा पशुको ज्यान जानुका साथै हजारौं घर भत्किए ।

१७३७ देखिका भूकम्प

नेपालमा अन्य थुप्रैपटक भूकम्प गएको भनाइ रहेको भए तापनि प्रामाणिक तिथिमिति नभेटिएकामध्ये वि.सं. १७३७ सालको राति भूकम्प गएको इतिहासविद्को भनाइ छ । जसले ठूलो विपत निम्त्याएको थियो भने वि.सं. १८२४ असार १ गते एकैदिनमा २१ पटक भूकम्पको धक्का महसूस गरियो । यसले के कति धनजनको क्षति पुर्यायो, त्यसको पनि कुनै अभिलेख पाइँदैन तर २४ घन्टाभित्रमा २१ पटक भूकम्प जाँदा ठूलै क्षति भएको अनुमान गरिएको छ । वि.सं. १८६७ जेठ १० गते गएको भूकम्पबाट काठमाडौँललितपुरमा ठूलो मानवीय क्षति त भएन तर मठमन्दिर भने प्रशस्त मात्रामा भत्किए । भक्तपुरमा चाहिं यस भूकम्पले निकै मानिसको ज्यान लिएको थियो । यस्तै वि.सं. १८८० यमपञ्चकका दिन एकै स्थानमा बसेका सातवटा ग्रह छुट्टिंदा यो भूकम्प गएको थियो । जानकारका भनाइमा एकैदिनमा १७ पटक भूकम्प गएको थियो । यो विपत्तिले पनि निकै क्षति पुर्यायो । उल्लेखित भूकम्पको क्षति विवरणको एकिन तथ्यांक नभए तापनि त्यसपछिका नेपालमा गएको भूकम्पहरूको तथ्यांक स्पष्ट पाइन्छ ।

१८९० देखि गएका भूकम्प

वि.सं. १८९० भदौ १२ गते सोमबार बेलुका करीब ६ बजेतिर ठूलो विनाशकारी भूकम्प गएको थियो । त्यही दिन राति ११ बजे पनि पुनः भूकम्पको झड्का महसूस भयो । जसका कारण हनुमानढोकाभित्रको भण्डारखालमा राजाहरूले र टुँडिखेलको खुला चौरमा सर्वसाधारण रात कटाउन बाध्य भए । यस भूकम्पले भक्तपुर, ठिमी, साँखु, बनेपालाई नराम्रो प्रभाव पार्यो । काठमाडौँमा रहेका दुईवटा धरहरा मध्ये एउटालाई पूरै ढाल्यो भने अर्को आधा मात्र भत्कियो । सो भूकम्प गएको एक महिना नबित्दै असोज १० गते राति अर्को भूकम्प गएको थियो । जसले भत्किन बाँकी संरचनालाई तहसनहस पार्यो । भूकम्पले घाउ सेलाउन नपाउँदै एक वर्षपछि वि.सं. १८९१ सालको असार र असोज महिनामा फेरि दुईवटा ठूला भूकम्प गए । पानी परिरहेका बेला यी भूकम्प गएको कारणले बागमतीमा ठूलो बाढी आयो ।

१९९० को भूकम्प

नेपालको भूकम्प इतिहासमा सबैभन्दा बीभत्स र विनाशकारी वि.सं. १९९० माघ २ गतेको भूकम्पलाई मानिन्छ । पूर्वको संखुवासभा जिल्लाको चैनपुरलाई केन्द्रबिन्दु बनाएर गएको ८.४ रेक्टर स्केलको यस भूकम्पले देशलाई नराम्रो असर पार्यो । उक्त भूकम्पमा परी तीन हजार ८५० पुरुष र चार हजार ६६९ महिला गरी जम्मा आठ हजार ५१९ जनको मृत्यु भएको थियो भने काठमाडौँ उपत्यकामा मात्र करीब चार हजार ५०० जनाले ज्यान गुमाए । घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत दुई लाख सात हजार ४० वटा संरचना भत्किएको अभिलेख छ ।

मिति विवरण न खुलेको

यस्तै सुदूरपश्चिमको बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा करीब २५ सय घर ध्वस्त भए । ४६ जना मानिसले ज्यान गुमाए भने सयौं चौपायाको ज्यान गएको थियो ।

२०४५ को भूकम्प

हामीले भुल्न नसक्ने स्मरणीय भूकम्प वि.सं. २०४५ भदौ ५ गते बिहान पौने पाँच बजे गएको थियो । पूर्वी नेपालको उदयपुर जिल्ला स्थित मुर्कुचीलाई केन्द्रबिन्दु बनाएर गएको ६.७ रेक्टर स्केलको भूकम्पमा परी करीब ७५० जना मानिसले ज्यान गुमाए भने छ हजार ५०० भन्दा बढी घर भत्किए । त्यसले पूर्वी नेपाललाई नराम्ररी क्षति पुर्यायो भने राजधानी उपत्यकामा समेत यसको प्रभाव परेको थियो ।[१]

२०६८ को भूकम्प

यस्तै २०६८ असोज १ गते ताप्लेजुङ र भारतको सिक्किम सीमाक्षेत्रमा केन्द्रबिन्दुमा गएको भूकम्पमा १११ जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएका थिए ।[२]

२०७२ को भूकम्प

२०७२ साल वैशाख १२ गते शनिबार गएको भूकम्पमा परी ८ हजार ५ सय ५६ जनाको मृत्यु भएको थियो भने २२ हजार ३ सय ९ जना घाइते भएका छन् । गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको यो भूकम्पमा परी २ हजार ६ सय ७३ सरकारी भवनहरूमा पूर्ण क्षति, ३ हजार ७ सय ५७ वटा सरकारी भवनमा आंशिक क्षति भएको थियो । यसैगरी ६ लाख २ हजार २ सय ५७ वटा सर्वसाधारणका घर पूर्ण क्षति र २ लाख ८५ हजार ९९ घरमा आंशिक क्षति भएको थियो । यो भूकम्पमा परी धरहरा, वसन्तपुर, बुङमतिमा रहेको रातो मच्छिन्द्रनाथको मन्दिर ध्वस्त भएका थिए ।

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस

This page is based on a Wikipedia article written by contributors (read/edit). Text is available under the CC BY-SA 4.0 license; additional terms may apply. Images, videos and audio are available under their respective licenses. Cover photo is available under CC BY 2.0 license.